सुनको मूल्यमा वृद्धि, चाँदी पनि महँगियो

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार उल्लेख्य गिरावट आएको सुनको मूल्य आइतबार फेरि उकालो लागेको हो।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला ५ हजार ८ सय रुपैयाँले घट्दै २ लाख ८५ हजार ५ सय रुपैयाँमा झरेको थियो। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर २ लाख ९१ हजार ३ सय रुपैयाँ पुगेको थियो भने बुधबार प्रतितोला ५ हजार ४ सय रुपैयाँले वृद्धि भएको थियो। चाँदीको मूल्यमा पनि आज सामान्य वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ६० रुपैयाँले बढेर ४ हजार ४ सय १० रुपैयाँ पुगेको छ। शुक्रबार भने चाँदीको मूल्य प्रतितोला १५५ रुपैयाँले घटेर ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका तथ्यांकअनुसार चालु वर्षको माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको थियो। त्यस्तै, सोही दिन चाँदीको मूल्य पनि प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च स्तर हो। यस्तै, माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन नेपाली बजारमा चाँदीको मूल्यमा आएको हालसम्मकै सबैभन्दा ठूलो एकदिने गिरावट मानिएको छ।

Back To Top
Modern Footer Design