होर्मुज जलमार्ग बन्द हुँदा जैविक सुरक्षामा पनि बढ्यो जोखिम

काठमाडौं । विश्वको महत्वपूर्ण ऊर्जा तथा व्यापारिक मार्ग होर्मुज जलमार्ग लामो समयदेखि बन्द हुँदा यसको असर इन्धन आपूर्तिमा मात्र सीमित नरही समुद्री जैविक सुरक्षामा समेत पर्न थालेको वैज्ञानिकहरूले बताएका छन् ।

‘बायोलोजिकल इन्भेसन्स जर्नल’मा प्रकाशित एक अध्ययनअनुसार होर्मुज जलमार्गमा लामो समयदेखि रोकिएका जहाजमा विभिन्न समुद्री जीव तथा बाह्य प्रजाति असामान्य रूपमा जम्मा भइरहेका छन् । ती जहाज पुनः सञ्चालनमा आएपछि त्यस्ता जीव नयाँ समुद्री क्षेत्रमा पुग्न सक्ने र त्यसले स्थानीय पारिस्थितिक प्रणालीमा गम्भीर असर पार्न सक्ने वैज्ञानिकहरूको चेतावनी छ । विश्वको करिब २० प्रतिशत इन्धन आपूर्ति हुने यो जलमार्ग बन्द हुँदा महिनौँदेखि ठूलो संख्यामा जहाज खाडी क्षेत्रमा रोकिएका छन् । अध्ययनअनुसार गत फेब्रुअरीदेखि करिब १ हजार ५०० जहाज फारसी/अरबी खाडी क्षेत्रमा रोकिएका छन् भने सयौँ जहाज ओमानको खाडीमा रहेका छन् । समुद्री जीवविज्ञानीहरूको अन्तर्राष्ट्रिय टोलीले लामो समयसम्म जहाज एकै स्थानमा रोकिँदा त्यसको सतहमा सूक्ष्मजीव, लेउ, समुद्री घाँस तथा ढाडको हड्डी नभएका विभिन्न जीव टाँसिने प्रक्रिया तीव्र हुने जनाएको छ । जहाजको सतहमा समुद्री जीव जम्मा हुने यस्तो प्रक्रियालाई ‘बायोफाउलिङ’ भनिन्छ ।

लामो समय रोकिँदा बढ्छ जोखिम

अध्ययनका प्रमुख लेखक तथा समुद्री पारिस्थितिकीविद् प्राध्यापक मारियो ताम्बुरीका अनुसार समुद्री जीवहरूको ठूलो समूह कुनै कडा सतहमा टाँसिएर जीवन बिताउने भएकाले लामो समयसम्म रोकिएका जहाज उनीहरूका लागि उपयुक्त आधार बन्न सक्छन् । उनका अनुसार समुद्रमा नयाँ संरचना पुगेपछि सुरुमा ब्याक्टेरिया तथा सूक्ष्मजीव त्यसको सतहमा बस्न थाल्छन् । त्यसपछि माइक्रोबियल फिल्म बन्ने र त्यसमा केल्पजस्ता म्याक्रोएल्गीका बीजाणु तथा बार्नेकल र अन्य इन्भर्टेब्रेटका लार्भा बस्ने क्रम सुरु हुन्छ । खाडी क्षेत्रमा समुद्रको सतहमा ठोस संरचना कम भएकाले जहाजजस्ता वस्तु समुद्री जीवका लागि महत्वपूर्ण आधार बन्न सक्ने वैज्ञानिकहरूको भनाइ छ । ताम्बुरीका अनुसार सामान्य अवस्थामा खाडी क्षेत्रमा जहाजहरू बन्दरगाहमा एकदेखि तीन दिनसम्म मात्र रोकिन्छन् । तर १० दिनभन्दा लामो समयसम्म रोकिँदा जहाजको सतहमा बाह्य प्रजाति तीव्र रूपमा जम्मा हुन सक्छन् । अहिले धेरै जहाज महिनौँदेखि रोकिएकाले जोखिम असामान्य रूपमा बढेको वैज्ञानिकहरूको निष्कर्ष छ ।

सन् २०२३ मा अन्तर्राष्ट्रिय समुद्री संगठनले लामो समय निष्क्रिय रहने जहाजलाई पुनः सञ्चालनमा ल्याउनुअघि बायोफाउलिङ नियन्त्रणका उपाय अपनाउन सुझाव दिएको थियो । तर होर्मुज क्षेत्रमा अहिलेको अवस्था त्यसअघिका घटनाभन्दा निकै लामो समयसम्म चलेको अनुसन्धानकर्ताहरूले बताएका छन् । यसपटकको समयसमेत जोखिम बढाउने खालको रहेको ताम्बुरीको भनाइ छ । उनका अनुसार होर्मुज बन्द हुँदा पानीको तापक्रम गर्मी मौसमतर्फ बढ्दै थियो । तापक्रम बढेसँगै समुद्री जीवहरूको प्रजनन, अण्डा उत्पादन तथा नयाँ बासस्थान खोज्ने गतिविधि तीव्र हुने भएकाले बाह्य प्रजाति फैलिने सम्भावना थप बढेको हो । अध्ययनमा अत्यधिक अनुकूलन क्षमता भएको ‘एम्फिबालानस इम्प्रोभिसस’ नामक बार्नेकलको उदाहरणसमेत दिइएको छ । करिब ३० डिग्री सेल्सियस तापक्रममा एउटा वयस्कले दैनिक दर्जनौँ लार्भा उत्पादन गर्न सक्ने भएकाले एउटै स्थानमा रोकिएका धेरै जहाजबाट ठूलो संख्यामा लार्भा फैलिन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

नयाँ क्षेत्रमा पुगे ठूलो क्षतिको जोखिम

जहाजसँगै बाह्य समुद्री प्रजाति नयाँ क्षेत्रमा पुगेमा स्थानीय पारिस्थितिक प्रणालीमा गम्भीर असर पर्न सक्ने वैज्ञानिकहरूको चेतावनी छ । यस्ता प्रजातिले स्थानीय जीवलाई विस्थापित गर्नुका साथै केही प्रजाति लोप हुने अवस्था निम्त्याउन सक्छन् । यसले मत्स्य व्यवसाय, माछापालन तथा समुद्री पूर्वाधारमा समेत नकारात्मक प्रभाव पार्न सक्छ । पावर प्लान्टका कुलिङ प्रणालीमा समेत यस्ता जीवले समस्या सिर्जना गर्न सक्ने अध्ययनमा उल्लेख छ । एकपटक आक्रामक बाह्य प्रजाति समुद्री क्षेत्रमा स्थापित भएपछि त्यसलाई नियन्त्रण वा हटाउन निकै कठिन हुने ताम्बुरीले बताएका छन् । त्यस्ता जीवले परजीवी तथा रोगजनकसमेत नयाँ क्षेत्रमा पुर्‍याउन सक्ने जोखिम रहेको उनको भनाइ छ । खाडी क्षेत्रको तातो र नुनिलो पानीमा हुर्किएका जीवहरू अन्य तातो समुद्री क्षेत्रमा पुगेमा भविष्यमा तापक्रम बढ्दै जाँदा स्थानीय प्रजातिभन्दा बढी अनुकूल साबित हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

बायोफाउलिङले जहाजलाई समेत असर गर्छ । जहाजको सतहमा धेरै समुद्री जीव जम्मा हुँदा तौल बढ्नुका साथै पानीमा चल्ने गति घट्न सक्छ । त्यसका कारण जहाजलाई समान गति कायम राख्न थप इन्धन आवश्यक पर्न सक्छ । अनुसन्धानकर्ताहरूले जहाजको आवागमन, यात्राको अवधि तथा वातावरणीय अवस्थालगायतका आधारमा बाह्य समुद्री प्रजाति पुग्दा उच्च जोखिममा पर्न सक्ने विभिन्न बन्दरगाहको पहिचान गरेका छन् । साउदी अरबको जेद्दा, भारतको मुम्बई, श्रीलंकाको कोलम्बो, सिंगापुर, इजिप्टको अलेक्जान्ड्रिया, ग्रीसको पिरियस, स्पेनको अल्जेसिरास र नेदरल्याण्डको रोटरड्यामलाई जोखिमयुक्त बन्दरगाहका रूपमा औँल्याइएको छ । वैज्ञानिकहरूले होर्मुजबाट जहाजहरू अन्यत्र पठाउनुअघि तिनलाई राम्रोसँग सफा गर्नुपर्ने सुझाव दिएका छन् । विशेषगरी लामो समयदेखि समुद्री जीवले ढाकिएका ठूला जहाज सफा गर्नु चुनौतीपूर्ण हुने उनीहरूको भनाइ छ । जैविक सुरक्षा कायम राख्न जहाजबाट हटाइएका समुद्री जीवलाई पानीमा पुनः फैलिन नदिने गरी संकलन तथा उचित व्यवस्थापन गर्नुपर्ने वैज्ञानिकहरूले बताएका छन् । रोबोटिक्सलगायत आधुनिक प्रविधिको प्रयोग गरेर जहाजको सतहमा जम्मा भएका जीव हटाउन सकिने उनीहरूको सुझाव छ ।

Back To Top
Modern Footer Design