कास्की । पोखरामा विजयपुर खोलाले बगाउँदा अन्दाजी १४/१५ वर्ष उमेरका दुई बालक बेपत्ता भएका छन्। शनिबार दिउँसो पोखरा–१४ विजयबस्तीबाट विजयपुर खोला पार गरी पोखरा–२६ सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रोपावर नजिकै उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार १० जनाको समूहमा रहेका बालकहरू खोला पार गर्ने क्रममा आठ जना सुरक्षित रूपमा बाहिरिन सफल भएका थिए। बाँकी दुई जनालाई खोलाले बगाएपछि उनीहरूको खोजी तथा उद्धार कार्य सुरु गरिएको हो। घटनालगत्तै इलाका प्रहरी कार्यालय शिशुवा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट २१ जना प्रहरी परिचालन गरिएको छ। त्यस्तै, सशस्त्र प्रहरी बेसक्याम्प कुँडहरबाट गोताखोरसहित नौ जनाको टोली पनि खोजी कार्यमा खटिएको प्रहरीले जनाएको छ। बेपत्ता बालकहरूको नाम, थर र ठेगाना भने हालसम्म खुल्न सकेको छैन। प्रहरीका अनुसार घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
