होर्मुज जलमार्गमा राखिएका बारुदी सुरुङ हटाइसकेको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलमार्गको अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा राखेका सबै बारुदी सुरुङ अमेरिकी नौसेनाले हटाइसकेको दाबी गरेका छन्।

ट्रम्पले जलमार्गमा पुनः बारुदी सुरुङ बिछ्याउने प्रयास भए त्यस्ता जहाज वा डुंगालाई तत्काल नष्ट गरिने चेतावनी दिएका छन्। उनका अनुसार अमेरिकी ‘स्पेस फोर्स’ले होर्मुज जलमार्गको सम्पूर्ण क्षेत्रमा निगरानी गरिरहेको छ र नयाँ सुरुङ बिछ्याउने प्रयासप्रति कुनै सहनशीलता नअपनाइनेछ। तर, ट्रम्पको दाबीलाई इरानका उपविदेशमन्त्री काजिम गरिबाबादीले अस्वीकार गर्दै होर्मुज जलमार्ग अझै इरानको नियन्त्रणमा बन्द अवस्थामा रहेको बताएका छन्।

यसैबीच, इरान र ओमानका विदेशमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमा जलमार्गमा जहाजको सुरक्षित आवागमन सहज बनाउन अस्थायी नौवहन करिडोर निर्माणबारे छलफल भइरहेको जनाइएको छ। दुवै देशले संयुक्त रूपमा बारुदी सुरुङ हटाउने विषयमा समेत छलफल गरिरहेका छन्। विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा तरल प्राकृतिक ग्यास ओसारपसार हुने रणनीतिक जलमार्ग होर्मुजमा अवरोध उत्पन्न भएपछि विश्वव्यापी इन्धन बजारमा मूल्यमा ठूलो उतारचढाव आएको छ। सन् २०२६ फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही सुरु गरेपछि इरानले होर्मुज जलमार्ग बन्द गर्ने प्रयास गर्दै आएको छ।

Back To Top
Modern Footer Design