गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा टिप्पर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए। आइतबार साँझ करिब ५ः४० बजे धुर्कोट गाउँपालिका–५ डुकुर्तिमा तम्घासबाट सिमलटारीतर्फ जाँदै गरेको लु१क ४४४८ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको लु६प २७२६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्। दुर्घटनामा इस्मा गाउँपालिका–६ अमरपुरका ३२ वर्षीय धनिश्वर बस्नेत गम्भीर घाइते भएका थिए। उनको छाती र अनुहारमा गम्भीर चोट लागेको थियो। मोटरसाइकलको पछाडि सवार धुर्कोट गाउँपालिका–२ का २३ वर्षीय कमल पछाईको भने बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दुवैलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको थियो। बस्नेतलाई थप उपचारका लागि पाल्पाको प्रभास पठाइएकोमा आइतबार राति करिब ११ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। बस्नेतको शव सोमबार बिहान करिब ३ बजे जिल्ला अस्पताल तम्घास ल्याएर शवगृहमा राखिएको छ। दुर्घटनापछि टिप्पर चालक प्युठानको गौमुखी गाउँपालिका–२ का ३० वर्षीय जीवन राना मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र विश्वकर्माले जानकारी दिए।
