काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेकाले देशभर मौसम बदली भएको हो। हाल बिहान देशभर सामान्यतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा कोशी र मधेश प्रदेशका तराई भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना छ। यस्तै, पहाडी भू–भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा अन्य प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
