काठमाडौं । नेपालमा आएको बाढीपछि भारतको उत्तर प्रदेशस्थित कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा अज्ञात शव भेटिने क्रम जारी छ।
कुशीनगर प्रशासनका अनुसार हालसम्म नदीबाट १३ वटा शव बरामद भइसकेका छन्। बरामद भएका शवमध्ये ६ जना पुरुष र ७ जना महिला रहेको प्रशासनले जनाएको छ। तीमध्ये ६ वटा शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ भने ठाउँको अभाव भएपछि बाँकी ७ वटा शव गोरखपुरस्थित एम्समा पठाइएको छ। नेपालमा आएको बाढीका कारण ती शव नदीले बगाएर भारतसम्म पुर्याएको हुन सक्ने आशंका गरिएको छ। नदीमा अझै शव भेटिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै भारतीय एसडीआरएफ र एनडीआरएफका टोलीले खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिएका छन्।
कुशीनगरकी प्रभारी जिल्ला अधिकारी तथा प्रमुख विकास अधिकारी (सीडीओ) वन्दिता श्रीवास्तवका अनुसार शवसम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। कुशीनगर जिल्ला प्रशासनले नेपालका सम्बन्धित अधिकारीसँग समन्वय गरिरहेको छ भने भारतीय विदेश मन्त्रालयमार्फत पनि बरामद शवबारे नेपाललाई जानकारी गराउने काम भइरहेको छ। प्रशासनका अनुसार पोस्टमार्टमलगायत कानुनी प्रक्रिया पूरा भएपछि शव नेपाललाई हस्तान्तरण गरिनेछ। त्यसपछि पहिचान खुलाएर सम्बन्धित परिवारसम्म पुर्याउने प्रक्रिया अघि बढाइनेछ। यसैबीच, आफन्तको खोजीमा कुशीनगर पुग्ने नेपाली नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन जिल्ला प्रशासनले नियन्त्रण कक्ष (कन्ट्रोल रुम) समेत स्थापना गरेको जनाएको छ
