सिन्धुपाल्चोक र कास्कीमा भारी वर्षा, सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । पछिल्लो १२ घण्टामा देशका विभिन्न भू–भागमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोक र कास्कीका केही क्षेत्रमा तुलनात्मक रूपमा बढी वर्षा मापन गरिएको छ।

विभागका अनुसार सिन्धुपाल्चोकको मेलम्ची घ्याङमा ६४.२ मिलिमिटर र भोताङमा ६१.४ मिलिमिटर वर्षा भएको छ। त्यस्तै, कास्कीको घलेखर्कमा ५१.६ मिलिमिटर तथा मालेपाटनमा ४५ मिलिमिटर वर्षा मापन गरिएको छ। पछिल्लो १२ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको विभागले जनाएको छ। कोशी र कर्णाली प्रदेशका केही स्थानमा तथा मधेश र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। यसैबीच, हालै बाढी प्रभावित बनेका पहाडी क्षेत्रमा वर्षा थपिएसँगै नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै कटान र पहिरोको जोखिम बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ। विशेषगरी साना नदी तथा खोलाको तटीय क्षेत्र र पहिरोको जोखिम रहेका स्थानमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

Back To Top
Modern Footer Design