काठमाडौँ । सरकारले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आगामी भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते भोटेकोशीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको १३औँ दिनको पुण्यतिथिमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। सरकारका अनुसार उक्त दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितको उद्धार तथा राहतसँगै प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि विभिन्न निर्णयसमेत गरेको छ। बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने ५० लाख अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। उक्त रकम भोटेकोशी बाढी प्रभावितको जीवनरक्षा तथा तत्कालीन उद्धार र राहत कार्यमा प्रयोग गरिनेछ।
त्यस्तै, बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन राहत, कर तथा महसुलमा सहुलियतलगायत सुविधा उपलब्ध गराउने निर्णय भएको छ। सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत २५ हजार मेट्रिकटन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्नसमेत स्वीकृति दिएको छ।
बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ। उद्धारका क्रममा घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ। यसैगरी, सरकारले भदौ २३ गते जेनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा नारायणप्रसाद भट्टलाई बढुवा गरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मुख्यसचिवमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।
