भोटेकोशी । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २९० पुगेको छ।
बाढी प्रभावित विभिन्न जिल्लाबाट बिहीबार राति ८ बजेसम्म उक्त संख्यामा शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिमबाट शव फेला परेका हुन्। भारतमा फेला परेका शवलाई समेत उक्त विवरणमा समेटिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष छन्। यसबाहेक ५३२ आंशिक अंगसहितका शवसमेत फेला परेका छन्।
बाढीबाट प्रभावितमध्ये हालसम्म ५ हजार ३८४ जनाले उपचार सेवा पाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न अस्पतालमा अझै ३०४ जना उपचाररत छन्। उद्धारका क्रममा नेपाली सेनामार्फत ३ हजार २०६ जना र सशस्त्र प्रहरी बलमार्फत १ हजार ८७४ जनाले स्वास्थ्योपचार सेवा लिएका छन्। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा उपचारका कामलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ। बाढीपछि ५ हजार ८३ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ। हालसम्म प्रभावित क्षेत्रबाट १२ हजार ३८ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजारभन्दा बढी व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा राखिएका छन्।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा राखी स्वास्थ्योपचार, खाना तथा आवश्यक आधारभूत सेवा उपलब्ध गराउने काम भइरहेको छ। बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसहित सम्बन्धित सबै निकाय परिचालन गरिएको छ। भोटेकोशी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएपछि अहिले बेपत्ताको खोजी, उद्धार, घाइतेको उपचार र प्रभावितलाई राहत तथा सुरक्षित व्यवस्थापन मुख्य प्राथमिकतामा रहेको प्राधिकरणले जनाएको छ।
