काठमाडौँ । देशका अधिकांश भूभागमा आज मौसम बदली रही मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसोको समयमा रातिको तुलनामा धेरै स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ। विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थान तथा पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने विभागले जनाएको छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरै स्थान, वाग्मती र गण्डकीका तराई भूभागका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा पनि देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। कोसी, वाग्मती र गण्डकीका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपात हुनसक्ने विभागले जनाएको छ। हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाभन्दा उत्तरतर्फ रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि बढेको विभागले जनाएको छ।
