ग्यास अभावप्रति आशिका तामाङको आक्रोश,सरकारभन्दा माफिया ठूलो हो?

काठमाडौँ । बजारमा खाना पकाउने ग्यासको अभाव चर्किँदै गएको भन्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएकी छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले ग्यासको अभावका कारण सर्वसाधारण समस्यामा परेको तर सरकार भने जनताको दैनिक समस्याप्रति गम्भीर नदेखिएको आरोप लगाइन्। उनका अनुसार बजारका कतिपय पसलमा ग्यासको सिलिन्डर रहे पनि व्यवसायीले बिक्री गर्न नमानेको गुनासो आफूले निरन्तर सुनिरहेको बताइन्। उनले भनिन्, ‘मलाई दिनमा हजारौँ कल आउँछन्, आशिका दिदी पसलमा ग्यास छ तर पसलले ग्यास बेच्न मान्दैनन्।’ ग्यासको अभाव र बजारमा देखिएको मनपरीप्रति सरकारको भूमिका कमजोर देखिएको भन्दै तामाङले सरकारभन्दा माफिया शक्तिशाली भएको हो कि भन्ने प्रश्नसमेत गरिन्। उनले भनिन्, ‘के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? जनताले दुई तिहाइ मत दिएर पठाएको सरकारले आज जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्नुपर्ने हो?’ सांसद तामाङले ग्यासको समस्या समाधान गर्नुको साटो सरकार मन्त्री परिवर्तनमै केन्द्रित भएको भन्दै व्यङ्ग्यसमेत गरिन्।

उनले भनिन्, ‘महिने पिच्छे ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ सभामुख महोदय?’ उनले बजारमा वास्तवमै ग्यासको अभाव रहेको हो भने सरकारले त्यसबारे स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने बताइन्। सरकारसँग पर्याप्त ग्यास नभए जनतालाई वास्तविक अवस्था जानकारी गराएर वैकल्पिक व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो। सांसद तामाङले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरिन्। साथै, बजारमा ग्यास हुँदाहुँदै बिक्री नगर्ने व्यवसायीमाथि समेत आवश्यक अनुगमन र कारबाही गर्नुपर्नेमा उनले जोड दिइन्।

Back To Top
Modern Footer Design