काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा शनिबार पनि मौसम पूर्णरूपमा खुल्ने सम्भावना देखिएको छैन।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। यसको प्रभावले कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
शनिबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।शनिबार राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि वर्षा हुन सक्नेछ। तराईका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
