काठमाडौं । हरितालिका तीज पर्व आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ।
तीजको व्रत बस्ने महिलाले त्यसका लागि आवश्यक शक्ति सञ्चय गर्ने परम्पराअनुसार आज साँझ दर खाने चलन छ। माइती तथा दाजुभाइले चेलीबेटीलाई बोलाएर दर खुवाउने नेपाली समाजमा पुरानो परम्परा रहँदै आएको छ। भाद्र शुक्ल द्वितीयाका दिन दर खाने र त्यसको भोलिपल्ट अर्थात् तृतीयाका दिन हरितालिका तीजको व्रत बस्ने धार्मिक मान्यता छ। दरमा दूधबाट बनेका परिकारसँगै गहुँको रोटी, घिउलगायत आडिला खानेकुरा खाने गरिन्छ। निराहार व्रत बस्ने भएकाले अघिल्लो दिन पोषिलो खाना खाने परम्परा बसेको धर्मशास्त्रविद्हरू बताउँछन्। तीजलाई महिलाले आफ्ना सुख–दुःख, पीडा र अनुभव व्यक्त गर्ने पर्वका रूपमा समेत लिँदै आएका छन्। विशेषगरी तीजका गीत तथा भाकामार्फत महिलाले माइतीघरदेखि कर्मघरसम्मका भोगाइ सार्वजनिक गर्ने गरेका छन्। यस अवसरमा दिदीबहिनी, आफन्त तथा पुराना साथीभाइसँग भेटघाट गर्ने चलन पनि छ।
बढ्दो तडकभडकप्रति चिन्ता
पछिल्ला वर्षमा तीजको नाममा बढ्दै गएको तडकभडक र खर्चिलो प्रवृत्तिप्रति भने संस्कृतिविद् तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। परम्पराअनुसार तृतीयाको अघिल्लो दिन मात्र खाने दर महिनौँअघि नै सुरु गर्ने, महँगा गरगहना तथा पहिरन प्रदर्शन गर्ने प्रवृत्तिले पर्वको मौलिकता कमजोर बनाउँदै लगेको उनीहरूको भनाइ छ। सरकारी कार्यालय तथा विभिन्न संस्थाले समेत लामो समयअघिदेखि तीज कार्यक्रम आयोजना गरी अनावश्यक तामझाम गर्ने प्रवृत्ति बढेको भन्दै यसले सामाजिक असमानता झल्काउने र परम्परालाई विकृत बनाउने चिन्ता व्यक्त गरिएको छ।
ऋषि पञ्चमीसम्म मनाइन्छ तीज
दर खाएपछि सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत बसेर शिव–पार्वतीको पूजा गरिन्छ। त्यसपछि चौथीका दिन गणेशको पूजा गर्ने र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्वको समापन हुने धार्मिक परम्परा छ। यस वर्ष भदौ ३० गते मंगलबार गणेश चौथी र ऋषि पञ्चमी पर्व मनाइने पात्रोमा उल्लेख छ।
पार्वतीसँग जोडिएको तीजको धार्मिक मान्यता
हरितालिका तीजको सम्बन्ध भगवान् शिव र पार्वतीसँग जोडिएको धार्मिक विश्वास छ। पौराणिक कथाअनुसार हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति पाउन कठोर तपस्या गरेकी थिइन्। पिता हिमालयले उनको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूले उनलाई सुरक्षित स्थानमा लगेर लुकाएको र त्यहीँ उनले निराहार व्रत बसेर महादेवलाई पति रूपमा प्राप्त गरेको मान्यता छ।
पार्वतीलाई साथीहरूले हरण गरेर लगेको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यही दिनलाई हरितालिका तीजका रूपमा मनाउन थालिएको धार्मिक विश्वास रहेको छ। तीजका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा महिलाको ठूलो भीड लाग्ने गर्छ। भेटघाट, नाचगान र तीजका गीतमार्फत महिलाले आफ्ना भावना तथा अनुभव साटासाट गर्ने गरेका छन्। तीजसँगै नेपाली समाजमा दसैँ र तिहारजस्ता ठूला पर्वको माहोलसमेत सुरु हुन थाल्छ।
