बाँदरले खाद्यान्न बाली नष्ट गर्न थालेपछि अकबरे खुर्सानी खेती

स्याङ्जा । बाँदरका कारण धान, मकैजस्ता खाद्यान्न बालीमा क्षति हुन थालेपछि स्याङ्जाको वालिङ–१३ तारुखोलाका किसानले वैकल्पिक रूपमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरेका छन्।

तारुखोलामा करिब ६० रोपनी जमिनमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ। वालिङ नगरपालिकाको कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्मले व्यावसायिक रूपमा खुर्सानी खेती गरेको हो। फार्म सञ्चालक दयाराम पाठकका अनुसार खाद्यान्न बालीभन्दा खुर्सानीबाट राम्रो आम्दानी हुने र बाँदरले समेत क्षति नगर्ने भएकाले यसको खेती विस्तार गरिएको हो। गत फागुनमा रोपिएका खुर्सानी अहिले उत्पादन दिन थालेका छन्। हाल प्रत्येक दुई–तीन दिनमा करिब ३०० किलो पाकेको खुर्सानी टिपेर बजारमा पठाउने गरिएको पाठकले बताए। उत्पादन भएको खुर्सानी यशोदा फुड्स प्रालि, बुटवलको तरकारी बजार तथा स्थानीय बजारमा बिक्री हुँदै आएको छ।

अहिले अकबरे खुर्सानी प्रतिकिलो २२० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। बजारमा माग राम्रो रहे पनि मागअनुसार उत्पादन पुर्‍याउन नसकिएको फार्म सञ्चालक पाठकको भनाइ छ। उनका अनुसार हालसम्म करिब ७ लाख रुपैयाँ बराबरको खुर्सानी बिक्री भइसकेको छ। कृषि विकास परियोजना (हेफर) ले फार्मलाई कृषि प्राविधिक सहयोगसँगै मल्चिङ प्लास्टिक, मल र खुर्सानी सुकाउने मेसिन उपलब्ध गराएको छ। उत्पादन बढाउँदै आगामी दिनमा खेतीको क्षेत्रफलसमेत विस्तार गर्ने तयारी फार्मले गरेको छ। फार्ममा खुर्सानीसँगै माछापालन र कागती खेती पनि गरिएको छ। उत्पादित कृषि उपज फार्मकै सवारीसाधनमार्फत किसान तथा व्यापारीसम्म पुर्‍याउने व्यवस्था गरिएकाले बजारसम्म लैजान पनि सहज भएको छ। फार्म सञ्चालक पाठकले स्थानीयस्तरमा उपयोगविहीन रहेको जमिनलाई सदुपयोग गर्न सके गाउँमै बसेर राम्रो आम्दानी गर्न सकिने बताए।

Back To Top
Modern Footer Design