काठमाडौं । लामो समयदेखि माइतीघर मण्डलामा हुँदै आएको धर्नाका कारण प्रभावित बनेको थापाथलीतर्फ जाने सडक पुनः सञ्चालनमा आएको छ।
बुधबार बिहान प्रहरीले आन्दोलनकारीले सडकमा राखेका टेन्ट हटाएपछि सडकमा सवारी आवागमन सहज भएको हो। सडकमा टेन्ट राखेर रातिसमेत धर्ना बस्दा सुरक्षा चुनौती बढ्न सक्ने र प्रदर्शनमा सहभागीहरूको स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले टेन्ट हटाइएको प्रहरीको भनाइ छ।
प्रहरीले दिउँसोको समयमा प्रदर्शन तथा धर्ना गर्न भने रोक नलगाइएको जनाएको छ। तर रातको समयमा माइतीघर क्षेत्रमा बसेर धर्ना नगर्न आग्रह गर्दै प्रहरीले माइकिङसमेत गरेको थियो। लामो समयदेखि माइतीघरको भित्री सडकमा दिनरात प्रदर्शनकारीको उपस्थिति रहँदा यातायात आवागमन प्रभावित हुँदै आएको थियो। टेन्ट हटाइएपछि उक्त सडकखण्डमा यातायात सञ्चालन सहज भएको प्रहरीले जनाएको छ।
