काठमाडौं । नेपालमा हाल मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले देशभरको मौसममा बदली देखिएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशका अन्य भूभागमा पनि मौसममा बदलीको अवस्था देखिएको छ।
दिउँसो कस्तो रहला मौसम ?
आज दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। त्यस्तै, देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा समेत चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको मौसममा पनि बदली र वर्षाको सम्भावना
आज राति हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहने अनुमान छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। तराईका एक–दुई स्थानमा समेत रातिको समयमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। वर्षाको सम्भावना भएका क्षेत्रका नागरिकलाई मौसमको अवस्था बुझेर यात्रा गर्न तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।
