काठमाडौं । नेपालमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीयतासहितको नेपालको संविधान जारी भएको दिनको सम्झनामा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ।

संविधान दिवसका अवसरमा संघीय राजधानी काठमाडौंसहित देशभर विभिन्न औपचारिक तथा विविध कार्यक्रम आयोजना हुँदैछन्। दिवसको मुख्य समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत राज्यका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहने गर्छ। संविधान दिवसलाई केन्द्रित गर्दै प्रदेश तथा स्थानीय तहले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन्। राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था तथा नागरिकस्तरबाट समेत संविधान दिवसको अवसरमा कार्यक्रम तथा शुभकामना आदानप्रदान गरिँदैछ।

दिवसको अवसरमा राजनीतिक दलका नेताहरूले पनि छुट्टाछुट्टै शुभकामना सन्देश जारी गरेका छन्। उनीहरूले संविधानको कार्यान्वयन, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा संविधानले सुनिश्चित गरेका अधिकारलाई जनजीवनसँग जोड्नुपर्ने विषयमा जोड दिएका छन्। नेपालको वर्तमान संविधान संविधानसभाबाट २०७२ साल असोज ३ गते जारी भएको थियो। संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, मौलिक हक, संघीय संरचना तथा विभिन्न संवैधानिक व्यवस्थालाई संस्थागत गरेको छ।

Back To Top
Modern Footer Design