चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ।
करिब ५३ वर्षको रोनाल्डो विषहजारी पोस्ट नजिकै मृत भेटिएको थियो। पोस्टमार्टमका क्रममा उसको मुखमा विद्युत्को तार भेटिएपछि करेन्ट लागेका कारण मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ। यद्यपि, मृत्युको वास्तविक कारण भने अनुसन्धानपछि मात्र पुष्टि हुने निकुञ्जले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। निकुञ्जले घटनालाई गम्भीर रूपमा लिँदै आवश्यक अनुसन्धान अघि बढाएको छ। सौराहा–खोरसोर क्षेत्रमा पर्यटक र स्थानीयमाझ निकै लोकप्रिय रोनाल्डोको खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रसँग लामो समयदेखि सम्बन्ध थियो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनका अनुसार केन्द्रमा जन्मिएका ६९ छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान हुन्।
विशाल शरीर, फूर्तिलो चाल र अन्य भाले हात्तीसँग भिड्ने स्वभावका कारण रोनाल्डो चर्चित थियो। फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको नामबाट उसको नाम राखिएको बताइन्छ।
अन्य हात्तीसँगको भिडन्तका क्रममा उसको शरीरमा चोटपटकका चिन्हसमेत देखिएका थिए भने पुच्छरसमेत गुमाएको थियो। रोनाल्डोको निधनसँगै सौराहा–खोरसोर क्षेत्रमा लामो समयदेखि चर्चामा रहेको एउटा चर्चित जंगली हात्तीको अध्याय समाप्त भएको छ।
