देउवा समूह छाडेको नभई कांग्रेसको मूलधारमा फर्किएको घिमिरेको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले आफूहरू पूर्वसभापति शेरबहादुर देउवा पक्ष त्यागेर सभापति गगन थापा समूहमा गएको भन्ने चर्चा गलत भएको बताएका छन् ।

उनका अनुसार आफूहरू कुनै गुट परिवर्तन गरेर अर्को समूहमा प्रवेश गरेका होइनन्, बरु पार्टीकै मूलधारमा फर्किएका हुन् । महाधिवेशनलाई पार्टीको मुख्य राजनीतिक प्रक्रिया भन्दै उनले आफूहरू त्यसै प्रक्रियामा सहभागी भएको स्पष्ट पारे ।

घिमिरेले कांग्रेस विभाजन गर्ने पक्षमा आफूहरू नरहेको पनि बताए । पार्टीभित्र देखिएका असहमति र फरक विचारलाई आन्तरिक छलफल तथा प्रक्रियामार्फत समाधान गर्नुपर्ने उनको भनाइ छ ।

यसअघि आफूहरूलाई देउवा समूहबाट लाभ लिएर अहिले अर्को पक्षमा गएको आरोप लाग्ने गरेकोप्रति पनि उनले असन्तुष्टि जनाए । कांग्रेसमा आफ्नो पनि लामो राजनीतिक योगदान रहेको भन्दै त्यस्ता टिप्पणी उचित नभएको उनको भनाइ छ ।

अदालतको पुनरावलोकनसम्बन्धी निर्णय नआएसम्म अधिवेशन रोक्न आग्रह गरिए पनि प्रक्रिया अघि बढिसकेपछि आफूहरू त्यसबाट बाहिरिन नसकेको घिमिरेले बताए । अधिवेशनमा सहभागी नहुनु पार्टीकै प्रक्रियाबाट अलग हुनुजस्तो हुने भएकाले आफूहरू महाधिवेशन प्रक्रियामा सहभागी भएको उनले स्पष्ट पारे ।

Back To Top
Modern Footer Design