काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ।
बैठकमा प्रधानमन्त्रीको कार्यभारसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रदेखि विभिन्न विधेयकमाथि छलफल तथा प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको छ। सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा बैठकमा पढेर सुनाउनेछन्। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएकाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ। बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यस्तै, अर्थमन्त्री डा. वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ। यसैबीच, आज संघीय संसद्का विभिन्न पाँच वटा संसदीय समितिको बैठकसमेत बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ।
