चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत प्रभाव देखिएको छ। साथै बंगालको खाडीको पश्चिम–मध्य क्षेत्रमा विकसित न्यून चापीय प्रणालीका कारण आगामी दिनमा वर्षाको गतिविधि बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। मधेससहित विभिन्न प्रदेशका तराई भूभागमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा भने कोशी प्रदेशका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा भारी वर्षा हुन सक्ने अनुमान छ। कोशी प्रदेशको पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

Back To Top
Modern Footer Design