पोखराबाट आजदेखि दुबईमा नियमित उडान, अन्तर्राष्ट्रिय उडानको संख्या १४६ पुग्यो

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुँदैछ ।

फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित सेवा सञ्चालन गर्न लागेको हो । बुधबार साँझ ६ः१५ बजे दुबईबाट विमान पोखरा अवतरण गर्नेछ भने ७ः१५ बजे पोखराबाट यात्रु लिएर दुबई फर्किने तालिका छ । फ्लाई दुबईले दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–३ बाट पोखराका लागि दैनिक उडान सञ्चालन गर्ने जनाएको छ । २०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि चार्टर्ड तथा केही नियमित अन्तर्राष्ट्रिय उडान भए पनि निरन्तरता पाउन सकेका थिएनन् । विमानस्थल प्रशासनका अनुसार अहिले अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक अध्यागमन, भन्सार, सुरक्षा तथा अन्य प्राविधिक तयारी पूरा गरिएको छ ।

फ्लाई दुबईको सेवा एमिरेट्ससँगको कोड सेयरअन्तर्गत सञ्चालन हुने भएकाले पोखराबाट दुबई हुँदै विश्वका १२० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ । नियमित उडान सुरु भएपछि पोखराको पर्यटन, व्यापार तथा अन्तर्राष्ट्रिय आवागमन थप सहज हुने व्यवसायी तथा सरोकारवालाको विश्वास छ । पहिलो उडानको अवसरमा पोखरा विमानस्थलमा विमानलाई वाटर स्यालुटसहित स्वागत गर्ने तयारी गरिएको छ । पर्यटन व्यवसायीहरूले पोखरा आउने तथा यहाँबाट जाने यात्रुलाई स्वागत र बिदाइका लागि विभिन्न कार्यक्रम तथा छुट प्याकेजसमेत ल्याएका छन् । पर्यटन व्यवसायीहरूले यो उडानलाई विदेशमा रहेका नेपालीलाई सिधै पोखरा आउन सहज बनाउने अवसरका रूपमा समेत हेरेका छन् । साथै, पोखरा तथा गण्डकी क्षेत्रमा उत्पादित कृषि र स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन हवाई सेवाको उपयोग गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

यसअघि भएका अन्तर्राष्ट्रिय उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ७३ वटा चार्टर्ड र ७३ वटा नियमित गरी कुल १४६ वटा अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलले जनाएको छ । ती उडानमार्फत हालसम्म ३ हजार ८२८ यात्रुले आवतजावत गरेका छन् । यसअघि चीनको सिचुवानतर्फ लामो समय चार्टर्ड उडान सञ्चालन भएको थियो भने ल्हासाका लागि करिब एक वर्ष नियमित उडान भएको थियो । अन्य केही गन्तव्यमा पनि चार्टर्ड उडान सञ्चालन भएका थिए । विमानस्थलले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न ल्यान्डिङ, पार्किङलगायतका शुल्कमा छुट दिँदै आएको जनाएको छ । अब दुबईका लागि सुरु हुने नियमित उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालनलाई थप गति दिने अपेक्षा गरिएको छ ।

Back To Top
Modern Footer Design