आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान

काठमाडौं । देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बंगालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्रका कारण देशका अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार शुक्रबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने अति भारी वर्षाको समेत सम्भावना रहेको छ। हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली तथा पहाडी भूभागका विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना छ। मधेस तथा सुदूरपश्चिमका केही क्षेत्रमा पनि वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। यसैगरी, मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरी चल्नसक्ने सम्भावना रहेको छ। रातिको समयमा पनि देशका अधिकांश भूभागमा बदली रही विभिन्न प्रदेशमा वर्षा जारी रहने महाशाखाले जनाएको छ।

राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ। लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। लगातारको वर्षाका कारण पहाडी तथा तराई क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

Back To Top
Modern Footer Design