देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव, चार प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना

काठमाडौं । देशमा अहिले मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले शनिबार देशका अधिकांश भूभागमा बदली रही विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमतीका केही ठाउँमा वर्षा भइरहेको छ। कोशी र मधेस प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा अधिकांश स्थानमा तथा मधेससहित कोशी, बागमती र गण्डकीका केही तराई क्षेत्रमा चट्याङसहित वर्षा हुनसक्ने पूर्वानुमान छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ। शनिबार राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा अधिकांश बदली रहनेछ। यी प्रदेशका विभिन्न स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा अधिकांश स्थानमा तथा बागमतीको तराई क्षेत्रमा धेरै स्थानमा वर्षा हुनसक्नेछ। यस क्रममा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भने अति भारी वर्षा हुनसक्नेछ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागमा हावाहुरीको जोखिमसमेत रहेको छ।

Back To Top
Modern Footer Design