अर्घाखाँची । लगातार भइरहेको वर्षाका कारण पहिरो खस्दा सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्ड अवरुद्ध भएको छ।
मालारानी गाउँपालिका–५ अन्तर्गत भण्डार–छरछरे क्षेत्रमा पहिरो खसेपछि सडकमा यातायात पूर्णरूपमा ठप्प भएको वडा अध्यक्ष तिलक मिश्रले जानकारी दिए।
अविरल वर्षाका कारण सडकमा पहिरो खसेपछि उक्त मार्ग भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। सडक अवरुद्ध भएपछि तत्कालका लागि यात्रु र सवारी चालकलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ।
वर्षा अझै नरोकिएकाले सडक आसपासका क्षेत्रमा थप पहिरो खस्न सक्ने जोखिम रहेको भन्दै यात्राका क्रममा सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।
