काठमाडौं । देशमा मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले आज विभिन्न भूभागमा मौसम बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने ६ प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपासमा रहेको छ। यसको प्रभावसँगै हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने पहाडी तथा तराईका अधिकांश भूभागमा मौसम सफादेखि आंशिक बदलीको अवस्थामा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुनसक्नेछ। त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। यी दुई प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। यता गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। देशका अधिकांश तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
