बर्दिया । दसैँको उल्लासले गाउँबस्ती रमाइरहेका बेला बर्दियाको राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवार भने शोकमा डुबेका छन् । रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोशी बाढीमा बेपत्ता भएपछि ती परिवारका लागि यस वर्षको दसैँ खुसीभन्दा बढी पीडा र प्रतीक्षाको समय बनेको छ ।
घरमा जमरा राखिएको छ, कुलदेवताको पूजा पनि भइरहेको छ । तर परिवारका सदस्य बेपत्ता भएपछि दसैँको उमङ्गले उनीहरूको मन छुन सकेको छैन । विगतमा परिवारसँगै बसेर दसैँ मनाउनेहरू यस वर्ष आफन्त फर्किने आशामा दिन बिताइरहेका छन् । भोटेकोशी बाढीमा बेपत्ता भएका प्रदीप थारुकी श्रीमती सिर्जना थारुका लागि यस वर्षको दसैँ निकै पीडादायी बनेको छ । श्रीमान् बेपत्ता भएपछि उनलाई पर्व मनाउने जाँगर छैन । दसैँ आए पनि परिवारमा खुसी नरहेको र विगतका दसैँ सम्झिँदा झन् पीडा हुने उनले बताइन् ।
त्यस्तै, बाढीमा बेपत्ता भएका सुरेश थारुकी श्रीमती रमिता थारु पनि श्रीमान् फर्किने आशामा दिनरात बिताइरहेकी छन् । घरमा जमरा राखेर कुलदेवताको पूजा गरे पनि शोकका कारण यस वर्ष टीका नलगाई दसैँ बिताउने उनको भनाइ छ । तिनघरवाका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु गत भदौ १० गते भोटेकोशी बाढीमा परेर बेपत्ता भएका थिए । एउटै गाउँका पाँच जना बेपत्ता भएपछि उनीहरूका परिवार मात्र नभई सिङ्गो गाउँ नै शोकमा परेको छ ।
बेपत्ता राजु थारुका दाइ तुलाराम थारुका अनुसार विपत्तिले गाउँका सबैलाई दुःखी बनाएको छ । आफन्त र छरछिमेकमा समेत यस वर्ष दसैँको रौनक छैन ।राजापुर नगरपालिका–९ तिनघरवा गाउँमा ७५ परिवार बसोबास गर्छन् । विगतका वर्षमा रोजगारी, व्यवसाय र अध्ययनका लागि बाहिर गएकाहरू दसैँ मनाउन गाउँ फर्किँदा चहलपहल बढ्ने गरेको थियो । तर यस वर्ष बाढीको घटनाले गाउँको माहोल नै बदलिएको छ । गाउँका बरघर बरुण थारुले यस वर्ष तिनघरवामा दसैँको उल्लास नरहेको बताए । गाउँमा मादल नबजेको र कसैको मनमा पनि खुसी नरहेको उनको भनाइ छ । बाढीको पीडाका कारण यसअघि अटवारी र तीजसमेत उल्लासपूर्वक मनाउन नसकिएको स्थानीयले बताएका छन् ।
राहत नपाएको परिवारको गुनासो
भोटेकोशी बाढीमा बेपत्ता भएका मजदुरका परिवारले अहिलेसम्म सरकारी राहत नपाएको गुनासो गरेका छन् । आफन्तको काजकिरिया गर्नसमेत आर्थिक अभाव भएको उनीहरूको भनाइ छ ।
बेपत्ता सुरेश थारुकी श्रीमती रमिताले काजकिरियाका लागि खर्च जुटाउन कठिन भएको बताइन् । स्थानीय सरकारले किरियाखर्च उपलब्ध गराउने आश्वासन दिए पनि हालसम्म सहयोग नपाएको उनको गुनासो छ । राजापुर नगरपालिकाका विपद् सम्पर्क व्यक्ति खुसीराम थारुका अनुसार सरकारले बेपत्ता व्यक्तिहरूलाई मृत घोषणा नगरेकाले काजकिरियाका लागि राहत उपलब्ध गराउन समस्या भएको हो । बेपत्ता व्यक्तिलाई मृत घोषणा गरिएमा स्थानीय सरकारले काजकिरियाका लागि ५० हजार रुपैयाँसम्म सहयोग गर्न सक्ने उनले बताए ।
बेपत्ता राजु थारुका दाइ तुलारामले सरकारले राहत उपलब्ध नगराएको मात्र नभई राजुले काम गरेको ज्यालासमेत नपाएको गुनासो गरे । कामदारलाई रसुवा लैजाने ठेकेदारसँग फोनमा सम्पर्क भए पनि प्रत्यक्ष भेटघाट हुन नसकेको उनले बताए । बेपत्ता परिवारलाई राहत उपलब्ध गराउन र बाँकी ज्याला दिलाउन सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्ने उनको माग छ । भोटेकोशी बाढीमा राजापुर नगरपालिका–९ तिनघरवाका पाँच जनासहित राजापुर नगरपालिकाका ११ जना बेपत्ता भएका छन् । बर्दियाबाट मात्रै ७६ जना बेपत्ता रहेको विवरण छ । आफन्तको अवस्थाबारे अनिश्चितता र आर्थिक समस्याले बेपत्ता परिवारको पीडा थपिएको छ ।
