चितवन । सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकाससँगै मुलुकको समृद्धिका लागि आवश्यक कानुन निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सरकार नवप्रवर्तन, प्रविधिको प्रभावकारी उपयोग र कानुन निर्माणमा केन्द्रित रहेको बताएका हुन्।
भरतपुरमा स्थानीयवासीसँग आयोजित साक्षात्कार कार्यक्रममा मन्त्रीद्वयले विज्ञान तथा प्रविधिको विकास र सुशासनका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सक्रिय रहेको बताए। मन्त्री पुनले नयाँ मन्त्रालय स्थापना भएको र आवश्यक कानुनको अभावमा सुरुमा केही चुनौती देखिए पनि ती समस्या समाधान गर्दै सरकार समृद्ध नेपाल निर्माणको दिशामा अघि बढिरहेको बताए। कानुन निर्माण प्रक्रिया जटिल र समय लाग्ने भए पनि अध्यादेशमार्फत कानुनी बाटो खुलाइएको उल्लेख गर्दै उनले मन्त्रालयका योजना तथा अनुसन्धानका कामलाई तीव्रता दिइने जानकारी दिए।
त्यस्तै, कानुनमन्त्री गौतमले लोकतान्त्रिक व्यवस्थामा जनता सर्वोपरि हुने र जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताइन्। उनले सुशासन र विकासलाई गति दिन आवश्यक कानुन छिटो निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन्। मन्त्री गौतमका अनुसार सरकारले १६५ वटा कानुन निर्माण गर्ने लक्ष्यसहित सदनमा विवरण पेस गरिसकेको छ। त्यस्तै, ५४ वटा कानुनका मस्यौदा सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्तुत भएका छन्। नवप्रवर्तनसम्बन्धी कानुन पनि चाँडै सदनमा पेस गरिने उनले बताइन्।
