नेपाल–भारत पर्यटन सहकार्य विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ सुरु

चितवन । नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन तथा व्यावसायिक साझेदारी विस्तार गर्ने उद्देश्यले ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आइतबारदेखि सुरु भएको छ।

कार्यक्रममार्फत दुवै देशका पर्यटन व्यवसायीबीच सहकार्य बढाउँदै पर्यटक आवागमन र लगानीका नयाँ अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा सहभागी हुन भारतका विभिन्न सहरबाट आएका पर्यटन तथा ट्राभल व्यवसायीको टोलीलाई दिउँसो ३ बजे सुनौली सीमा नाकामा स्वागत गर्ने कार्यक्रम छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेरचनले नेपाल र भारतबीच पर्यटन तथा आतिथ्य क्षेत्रमा सहकार्य विस्तार गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताएका छन्। व्यावसायिक भेटघाट र छलफलले पर्यटन प्रवर्द्धन, लगानी विस्तार तथा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने उनको विश्वास छ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा हुने कार्यक्रमको उद्घाटन वरिष्ठ उपाध्यक्ष शेरचन, भारतको ट्राभल ट्रेड वेलफेयर एसोसिएसनका अध्यक्ष राजेश सिन्हा, इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंह तथा लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्की कार्यकारी निर्देशक शारदा बस्याल बेलबासेले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। आयोजकका अनुसार नेपाली होटल, रिसोर्ट, ट्राभल कम्पनी र पर्यटन गन्तव्यलाई भारतीय बजारसँग जोड्नु कार्यक्रमको प्रमुख उद्देश्य हो। यससँगै दुवै देशका पर्यटकका लागि संयुक्त पर्यटन प्याकेज निर्माण गर्ने र पर्यटन व्यवसायीबीच दीर्घकालीन साझेदारी विकास गर्ने योजना छ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाले भारतीय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्नुका साथै नेपाली पर्यटकलाई भारतका विभिन्न गन्तव्यतर्फ आकर्षित गर्न कार्यक्रमले सहयोग पुर्‍याउने बताएका छन्। कार्यक्रमका संयोजक तथा आईएलए होटल्स एन्ड रिसोर्ट्स र मौलाकालिकाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाका अनुसार कार्यक्रमको तयारी पूरा भएको छ। भारतीय प्रतिनिधिमण्डलको स्वागत, पर्यटन गन्तव्यको अवलोकन तथा व्यवसायीबीच अन्तरक्रियाका लागि आवश्यक व्यवस्था मिलाइएको उनले जानकारी दिएका छन्। सुनौलीमा स्वागत तथा उद्घाटन कार्यक्रमपछि प्रतिनिधिमण्डल रामग्राम नगरपालिकातर्फ जानेछ। त्यहाँ नगरप्रमुख धनपत यादवले टोलीलाई स्वागत गर्ने कार्यक्रम छ। प्रतिनिधिमण्डलले बुद्धको पवित्र अवशेषसँग सम्बन्धित रामग्राम स्तूपको समेत अवलोकन गर्नेछ।

त्यसपछि टोली नवलपुरको अमलटारीस्थित थारू गाउँ रिसोर्ट पुग्नेछ। त्यहाँ स्थानीय संस्कृति, आतिथ्य तथा पर्यटन सम्भावनाबारे जानकारी लिनुका साथै पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारीका विषयमा छलफल गरिनेछ। कार्यक्रममा चितवनको वन्यजन्तु तथा प्राकृतिक पर्यटन, नवलपुरको थारू संस्कृति र सामुदायिक पर्यटन, लुम्बिनीको बौद्ध सम्पदा तथा पोखराको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनलाई समेटेर संयुक्त पर्यटन प्याकेज विकास गर्ने सम्भावनाबारे पनि छलफल हुने आयोजकले जनाएको छ।

नेपाल र भारतबीचको भौगोलिक निकटता, सांस्कृतिक समानता, धार्मिक आस्था तथा जनस्तरको सम्बन्धलाई पर्यटनमार्फत थप मजबुत बनाउन सकिने आयोजकको विश्वास छ। कार्यक्रमले सीमापार पर्यटक आवागमनमा मात्र नभई लगानी, रोजगारी सिर्जना, सांस्कृतिक आदानप्रदान र स्थानीय आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Back To Top
Modern Footer Design