चितवनमा तीन महिनामा ३ हजार ६२ जनाले लिए वंशजका आधारमा नागरिकता

चितवन । चितवनमा चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन्।

सोही अवधिमा ६ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता त्यागेका छन्। जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट नागरिकता वितरण गरिएको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विकास विकका अनुसार जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता लिएका हुन्।

जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गर्नेमा एक हजार ४१८ महिला र एक हजार ४०६ पुरुष छन्। माडीबाट नागरिकता लिनेमा १२२ महिला र ११६ पुरुष रहेका छन्। यस अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १५ महिलाले वैवाहिक अङ्गीकृत र ११ जनाले अङ्गीकृत नागरिकता लिएका छन्। अङ्गीकृत नागरिकता प्राप्त गर्नेमा सात महिला र चार पुरुष छन्। त्यस्तै, ३१ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन्। उनीहरूमध्ये नौ महिला र २२ पुरुष छन्। माडीबाट भने एक महिलाले वैवाहिक अङ्गीकृत र एक जनाले अङ्गीकृत नागरिकता लिएका छन्।

तीन महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट ६ हजार ११६ र इलाका प्रशासन कार्यालय माडीबाट ६५० वटा नागरिकताको प्रतिलिपि जारी भएको छ। जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि लिनेमा दुई हजार ९८७ महिला, तीन हजार १२८ पुरुष र एक अन्य व्यक्ति छन्। माडीबाट प्रतिलिपि लिनेमा ३२३ महिला र ३२७ पुरुष रहेका छन्। यसैगरी, जिल्ला प्रशासन कार्यालयबाट २८ जनाले नागरिकता परित्याग गरेका छन्। नागरिकता त्याग्नेमा १० महिला र १८ पुरुष छन्। सोही अवधिमा चार जनाको नागरिकता रद्द गरिएको कार्यालयले जनाएको छ।

राष्ट्रिय परिचयपत्रतर्फ जिल्ला प्रशासन कार्यालयबाट ११ हजार ९९७ जनाको नयाँ विवरण दर्ता गरिएको छ भने चार हजार ३७० वटा परिचयपत्र वितरण गरिएको छ। राहदानीका लागि पाँच हजार ८५२ जनाको सिफारिस गरिएको र चार हजार २४३ वटा राहदानी वितरण गरिएको सूचना अधिकारी विकले जानकारी दिए। कार्यालयले तीन महिनामा ३२६ जनाको नाबालक परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरेको छ भने ११ वटा प्रतिलिपि जारी गरेको छ। यस अवधिमा ३१६ वटा जातीय प्रमाणित, ३१७ वटा भारतीय पेन्सन सिफारिस, १२५ वटा व्यक्ति प्रमाणित र एक हजार ११४ वटा अन्य सिफारिससम्बन्धी काम भएका छन्। यता, इलाका प्रशासन कार्यालय माडीबाट असोज मसान्तसम्म एक हजार २५५ जनाको राष्ट्रिय परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको छ भने ७४८ वटा परिचयपत्र वितरण गरिएको छ। साथै, १० जनाको नाबालक परिचयपत्रका लागि नयाँ विवरण दर्ता र २३ वटा जातीय प्रमाणितसम्बन्धी काम सम्पन्न गरिएको छ।

Back To Top
Modern Footer Design