काठमाडौँमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ सवारीसाधनमाथि कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् ।

चाडपर्वका समयमा सवारी नियम पालना नगर्ने चालकलाई लक्षित गर्दै ट्राफिक प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०२ चालक कारबाहीमा परेका छन् । त्यस्तै, सिसी क्यामराको निगरानीबाट ३९ र रातो बत्ती उल्लङ्घन गर्ने २० चालकलाई कारबाही गरिएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार तीव्र गतिमा सवारी चलाउने ५७ तथा अनावश्यक हर्न बजाउने आठ चालक पनि कारबाहीमा परेका छन् । यसैगरी, लेन अनुशासन पालना नगर्ने तीन, सवारीसाधनको अवस्था ठीक नभएका दुई तथा अन्य नियम उल्लङ्घनका घटनामा १०५ सवारीसाधनमाथि कारबाही गरिएको कार्यालयले जनाएको छ । चाडपर्वका बेला सडकमा सवारीसाधनको चाप बढ्ने र नियम उल्लङ्घनका कारण दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले ट्राफिक प्रहरीले निगरानीलाई तीव्र बनाएको छ । प्रहरीले चालकलाई मादक पदार्थ सेवन नगरी सवारी चलाउन, ट्राफिक संकेत पालना गर्न र निर्धारित गतिमा मात्र सवारी चलाउन आग्रह गरेको छ ।

Back To Top
Modern Footer Design