गृह मन्त्रालयले एन-प्याब्सनलाई गर्‍यो निलम्बन

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) माथि निलम्बनको निर्णय गरेको छ।

मन्त्रालयले अर्को आदेश जारी नभएसम्मका लागि संस्थाको गतिविधि रोक्ने निर्णय गरेको हो। शुक्रबार सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) अनुसार एन-प्याब्सनलाई निलम्बन गरिएको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार संस्थाले राष्ट्रिय निर्देशन ऐनको दफा ५ बमोजिम जारी गरिएका निर्देशन पटक–पटक बेवास्ता गर्दै आएको थियो। त्यस्तै, संस्थाका पदाधिकारीबाट सरकारद्वारा स्वीकृत विधान र संगठनको घोषित उद्देश्यसँग मेल नखाने गतिविधि भएको पनि मन्त्रालयको ठहर छ। यस विषयमा मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित पक्षसँग छलफल गरेको थियो। छलफलका क्रममा राष्ट्रिय निर्देशन ऐन र मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरिएको भए पनि त्यसको कार्यान्वयन नभएको मन्त्रालयले जनाएको छ।

निर्देशनको निरन्तर अवज्ञा भएको निष्कर्षसहित मन्त्रालयले एन-प्याब्सनलाई अर्को निर्णय नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो। मन्त्रालयले निलम्बनसम्बन्धी सूचना जारी भइसकेपछि संस्थाको नाम प्रयोग गरी कुनै पनि समूह वा गुटले गतिविधि गर्न नपाउने स्पष्ट पारेको छ। त्यस्ता गतिविधि गैरकानुनी हुने भन्दै संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

Back To Top
Modern Footer Design