मन्त्रिपरिषद्का ६ निर्णय : सडक सुधारदेखि प्रेस काउन्सिल ऐन संशोधनसम्म

काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक (एडीबी) बाट २८ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २ करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल गर्दै ६ वटा महत्त्वपूर्ण निर्णय गरेको हो। बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा सरकारका तर्फबाट थप हकप्रद सेयर लगानी गर्न पनि सहमति प्रदान गरेको छ। त्यस्तै, नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय गरिएको छ। साथै मल नियन्त्रण आदेश, २०८३ पनि स्वीकृत गरिएको छ।

मोही लागेको जग्गाको बाँडफाँटसम्बन्धी निवेदन दिने समय २०८५ कात्तिकसम्म र जग्गा बाँडफाँटको प्रक्रिया टुङ्ग्याउने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने निर्णयसमेत बैठकले गरेको छ। यसैगरी, टर्कीको अन्ताल्यामा आगामी कात्तिक २३ देखि मंसिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिइएको छ।

त्यस्तै, प्रेस काउन्सिल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।

Back To Top
Modern Footer Design