काठमाडौं । देशको राष्ट्रिय राजनीति विभिन्न घटनाक्रमले तरंगित भइरहेका बेला सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
सभामुख अर्याल शुक्रबार राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्। पछिल्लो समय बिचौलिया र न्यायालयबीचको सम्बन्धको विषय, प्रहरी महानिरीक्षकको बर्खास्ती तथा सत्तारुढ दलभित्र देखिएको असन्तुष्टिलगायतका घटनाले राजनीतिक वृत्तमा चर्चा पाइरहेका छन्।
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को अधिवेशन आह्वान गर्न माग गरिरहेको छ। यस्तो अवस्थामा भएको राष्ट्रपति र सभामुखबीचको भेटमा संसद्लाई नियमित तथा प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको जनाइएको छ। भेटमा संसद्को आगामी कार्यसूची र संसदीय गतिविधिलाई व्यवस्थित बनाउने विषयमा समेत कुराकानी भएको बताइएको छ।
