पेट्रोल छर्केर आगो लगाइएका चौधरीको उपचारका क्रममा मृत्यु

बुटवल । दाङको राजपुर गाउँपालिकामा पेट्रोल छर्केर आगो लगाइएका ४९ वर्षीय रुपलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको छ।

राजपुर गाउँपालिका–२ का चौधरीको आइतबार बिहान नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागीका कारण उनको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो। प्रहरीका अनुसार शनिबार दिउँसो राजपुर गाउँपालिका–२ खालगैरामा सोही ठाउँका ३८ वर्षीय त्रिलोक सिंह कार्कीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्किएपछि आगो लगाएका थिए।

घटनालगत्तै फरार भएका कार्कीलाई प्रहरीले खोजी गर्ने क्रममा लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो। गम्भीर घाइते चौधरीलाई तत्काल लमही अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो। घटनामा संलग्न आरोपित कार्की प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Back To Top
Modern Footer Design