काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले आज देशका केही हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
हाल पश्चिमी वायुको प्रभावका कारण हिमाली भूभाग र कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ।महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। अन्य क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेशको हिमाली भूभागमा पनि आंशिक बादल लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने जनाइएको छ। बुधबार पनि कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
