एनपीएलको पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। फाइनलमा सिधै स्थान बनाउने लक्ष्यसहित दुवै टोली मैदान उत्रिँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ। लिग चरणमा शीर्ष दुई स्थान हासिल गरेका यी दुई टोलीबीचको खेलमा विजयी हुने टोलीले फाइनलमा सोझै प्रवेश गर्नेछ। त्यसैले दुवै टोली पहिलो प्रयासमै फाइनलको यात्रा तय गर्ने योजनामा छन्। लुम्बिनीका लागि आजको खेल सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित हात पार्ने अवसर पनि हो। अघिल्लो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको लुम्बिनीले यस संस्करणको लिग चरणमा भएको भेटमा पनि सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो।

पछिल्ला दुई खेलमा लुम्बिनीले सुदूरपश्चिमको ब्याटिङलाई १०० रनभित्रै सीमित गरेको थियो। आजको क्वालिफायरमा पनि जित निकाल्न सके लुम्बिनीले सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जितसहित जितको ‘ह्याट्रिक’ पूरा गर्नेछ। लिग चरणमा दुवै टोलीले समान ५ जित निकालेका थिए। सुदूरपश्चिमले २ खेलमा पराजय बेहोरेको छ भने लुम्बिनी एक खेलमा मात्र हारेको थियो। लुम्बिनीको एक खेल रद्द भएपछि उसले थप १ अंक प्राप्त गरेको थियो। त्यसैका कारण लिग तालिकामा लुम्बिनी शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम दोस्रो स्थानमा रह्यो। आजको खेलले पहिलो फाइनलिस्टको टुंगो लगाउनेछ।

Back To Top
Modern Footer Design