काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। तिहारयता सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। तिहारअघि प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य त्यसयता १७ हजार १०० रुपैयाँले घटिसकेको महासंघले जनाएको छ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ३ हजार ४९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो। यससँगै सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
