अपराध अनुसन्धानमा आधुनिक प्रविधि र वैज्ञानिक पद्धति आवश्यक : आईजीपी केसी

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले अपराध अनुसन्धानलाई प्रभावकारी र परिणाममुखी बनाउन आधुनिक प्रविधि तथा वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोग अपरिहार्य रहेको बताएका छन्।

अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै आईजीपी केसीले वित्तीय अपराधको बदलिँदो स्वरूप र अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोगसँगै नयाँ चुनौती थपिँदै गएको बताए।

‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान : वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ भन्ने नाराका साथ आयोजित कार्यशालाको मुख्य विषय ‘वित्तीय अपराध अनुसन्धान : प्रमाण सङ्कलनदेखि फैसलासम्म’ रहेको थियो। केसीले वित्तीय अपराध नियन्त्रणका लागि प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन तथा न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। साथै, अनुसन्धानलाई नतिजामुखी बनाउन सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकबीच समन्वय, सहकार्य तथा सूचनाको प्रभावकारी आदानप्रदान आवश्यक रहेको बताए।

कार्यशालामा प्रहरीका एआईजी तथा डीआईजी, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिसहित विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यशालाबाट वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौती पहिचान गर्दै अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउने उपायहरू खोजिने अपेक्षा गरिएको छ।

Back To Top
Modern Footer Design