गौरको कानुपट्टी सीमा क्षेत्रमा बेवारिसे अवस्थामा २७ थान गोली फेला

रौतहट । रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएम पेस्तोलमा प्रयोग हुने २७ थान गोली बरामद भएको छ।

मंगलबार राति सीमा क्षेत्रमा नियमित गस्तीमा खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले शंकास्पद अवस्थामा रहेको प्लास्टिकको झोला फेला पारेपछि जाँच गरेको थियो। जाँचका क्रममा झोलाभित्र ९ एमएम राउन्डजस्तो देखिने २७ थान गोली भेटिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटका अनुसार सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको टोलीले कानुपट्टी क्षेत्रमा उक्त झोला फेला पारेको हो।

बरामद गोली कसले, कहाँबाट र के प्रयोजनका लागि त्यहाँ छाडेको हो भन्ने विषयमा भने अहिलेसम्म खुल्न सकेको छैन। सीमावर्ती क्षेत्रमा गोली बेवारिसे अवस्थामा भेटिएपछि सुरक्षा निकायले घटनालाई गम्भीर रूपमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सशस्त्र प्रहरीले जनाएको छ।

Back To Top
Modern Footer Design