पोखरा । आगामी निर्वाचनलाई लक्षित गर्दै कास्कीमा मतदान स्थल तथा मतदान केन्द्रको पुनरावलोकन प्रक्रिया अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिसँग यस विषयमा प्रारम्भिक छलफल थालेको हो।
कास्कीमा हाल १ सय ५३ मतदान स्थल र ३ सय ६३ मतदान केन्द्र रहेका छन्। यसअघि स्थानीय तह तथा राजनीतिक दलबाट केही मतदान स्थल संशोधन गर्नुपर्ने माग आएपछि प्रशासनले पुनरावलोकनको प्रक्रिया अघि बढाएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मतदान स्थल थप्ने, घटाउने, स्थान परिवर्तन गर्ने, नाम सच्याउने वा दुई स्थानलाई गाभ्ने विषयमा जिल्ला तहमा पुनरावलोकन समिति बनाएर काम गरिनेछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने समितिमा राजनीतिक दलका प्रतिनिधिसमेत सहभागी हुने व्यवस्था छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अहिलेको छलफल प्रारम्भिक चरणमा रहेको बताए। उनका अनुसार कुन मतदान स्थल थप्ने, हटाउने वा सार्ने भन्ने विषयमा सम्बन्धित वडा र स्थानीय तहबाट औपचारिक सिफारिस आएपछि मात्र प्रक्रिया अघि बढाइनेछ।
बैठकमा सहभागी जनप्रतिनिधि तथा दलका प्रतिनिधिहरूले केही मतदान स्थल सुधार गर्नुपर्ने, स्थान परिवर्तन गर्नुपर्ने र कतिपय वडामा नयाँ मतदान स्थल थप्नुपर्ने सुझाव दिएका छन्। त्यसका लागि प्रशासनले स्थानीय तहमा आवश्यक विवरणसहित पत्राचार गरिसकेको जनाएको छ।
स्थानीय तह र सम्बन्धित वडाबाट निर्णयसहितको सिफारिस प्राप्त भएपछि प्रशासनले आगामी २३ गतेसम्म निर्वाचन आयोगमा प्रस्ताव पठाउने तयारी गरेको छ। मतदान स्थल तथा केन्द्रसम्बन्धी अन्तिम निर्णय भने निर्वाचन आयोगले गर्नेछ।
यसअघि सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा ३ लाख ८ हजार ५ सय ७२ जना मतदाता रहेका थिए। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारीसमेत तीव्र बनाएको छ। आयोगले फागुन वा चैतको पहिलो सातासम्म स्थानीय तहको निर्वाचन गराउन सरकारलाई सिफारिस गरिसकेको छ। अब मन्त्रिपरिषद्को बैठकबाट निर्वाचनको मिति घोषणा हुने अपेक्षा गरिएको छ।
