काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले यौन हिंसासम्बन्धी मुद्दामा पीडित आफैँले अदालतमा साक्षी प्रस्तुत गर्नुपर्ने व्यवस्था हटाउनुपर्ने बताएकी छन् ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो धारणा राखेकी हुन् ।
सांसद विकले जबरजस्ती करणी लगायतका यौन हिंसाका घटनामा पीडितलाई नै साक्षी जुटाउन लगाउँदा उनीहरू थप मानसिक पीडामा पर्ने बताइन् । यस्ता संवेदनशील घटनामा पीडितले कसरी साक्षी उपलब्ध गराउन सक्छन् भन्ने विषयमा गम्भीर रूपमा सोच्नुपर्ने उनको भनाइ थियो ।
उनले यौन हिंसासम्बन्धी मुद्दाको न्यायिक प्रक्रिया पीडितमैत्री र सहज बनाउन कानुनी व्यवस्थामा आवश्यक सुधार गर्नुपर्नेमा जोड दिइन् । न्याय पाएपछि पनि धेरै पीडितले लामो समयसम्म मानसिक समस्यासँग संघर्ष गर्नुपर्ने अवस्था रहेको भन्दै उनले यस्ता घटना हुनै नदिने गरी राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताइन् ।
बैठकमा सहभागी अधिकांश सांसदहरूले सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यमबाट हुने हिंसा र मानव बेचबिखनमा परेका पीडितलाई न्याय प्राप्त गर्ने प्रक्रिया सहज बनाउनुपर्नेमा जोड दिएका थिए । समितिले बुधबार मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा कार्यरत विज्ञ तथा सरोकारवालासँग पनि विधेयकका विषयमा सुझाव लिएको थियो ।
