काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव देखिएको छ। यसको प्रभावस्वरूप केही हिमाली क्षेत्रमा आंशिक बदली हुनुका साथै तराई, काठमाडौं उपत्यका तथा खोँचका धेरै स्थानमा तुवाँलो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य भूभागमा भने मौसम मुख्यतः सफा रहने पूर्वानुमान गरिएको छ।
यस्तै, आज राति कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।महाशाखाका अनुसार शुक्रबार दिउँसो पनि कोशी र मधेस प्रदेशमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने सम्भावना रहेको छ।
