प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जा र पूर्वाधार सहकार्यलाई प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारका विषयले प्राथमिकता पाउने भएका छन्।

भ्रमणका क्रममा विभिन्न ऊर्जा तथा पूर्वाधारसम्बन्धी परियोजनाको उद्घाटन र नयाँ आयोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ।परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल र भारतबीच व्यापार, पारवहन, लगानी, ऊर्जा तथा पूर्वाधार विकासमा सहकार्य थप विस्तार गर्ने विषयमा दुवै देशका नेतृत्वबीच छलफल हुनेछ। नेपालका लागि भारत एक महत्वपूर्ण साझेदार राष्ट्र भएकाले आर्थिक सहकार्यका विभिन्न क्षेत्रलाई थप प्रभावकारी बनाउने विषयमा पनि जोड दिइने मन्त्रालयले जनाएको छ।

परराष्ट्र सचिव अमृत राईका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ। त्यसैगरी, दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार र आर्थिक साझेदारीलाई थप मजबुत बनाउने विषय पनि भ्रमणको महत्वपूर्ण एजेन्डामा रहनेछ। प्रधानमन्त्रीको भारत भ्रमणबाट नेपाल–भारतबीचको विद्यमान सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा नयाँ सहकार्यका ढोका खुल्ने अपेक्षा गरिएको छ।

Back To Top
Modern Footer Design