दुई महिनादेखि खत्याड–रारा सडक बन्द, स्थानीयदेखि पर्यटकसम्म प्रभावित

मुगु । मुगुको पश्चिमी क्षेत्रमा पर्ने खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडकखण्ड दुई महिनादेखि अवरुद्ध हुँदा स्थानीयवासीदेखि पर्यटकसम्म प्रभावित भएका छन् ।

खत्याड गाउँपालिका–८ नुवाखेत क्षेत्रमा लगातार खसिरहेको सुक्खा पहिरोका कारण सडकमा यातायात सञ्चालन हुन सकेको छैन । सडक बन्द भएपछि गाउँपालिकाका ११ वटै वडाका नागरिकलाई आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् ।

सडक अवरुद्ध हुँदा रारा ताल घुम्न आउने पर्यटक तथा जुम्लाको गोठीज्युला जाने यात्रुसमेत प्रभावित भएका छन् । सदरमुकाम गमगढी, गाउँपालिका केन्द्र, इलाका प्रशासन कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र बर्थिङ सेन्टरसम्म पुग्न स्थानीयलाई कठिनाइ भइरहेको छ ।

लामो समयदेखि सडक बन्द हुँदा महिला, बालबालिका, ज्येष्ठ नागरिक, बिरामी, विद्यार्थी तथा अशक्त व्यक्तिहरू बढी समस्यामा परेका छन् । पहिरोले सडकसँगै सिँचाइ कुलो, झोलुङ्गे पुल, खानेपानीका संरचना, गोरेटो बाटो र खेतीयोग्य जमिनमा समेत क्षति पुर्‍याएको छ । आसपासका बस्तीमा समेत जोखिम बढेको स्थानीयको भनाइ छ ।

सडक बन्द हुनुअघि केही मिनेटमै पार हुने दूरी अहिले पैदल हिँड्दा घण्टौँ लाग्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले गत कात्तिक ९ गते पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै तत्काल सडक सञ्चालनका लागि पहल गर्ने तथा भूगर्भविद्सहितको प्राविधिक अध्ययन गराउने प्रतिबद्धता जनाएका थिए । तर, अहिलेसम्म उक्त प्रतिबद्धता कार्यान्वयनमा आउन सकेको छैन ।

स्थानीय रुपसिङ रोकायाका अनुसार कर्णाली करिडोर निर्माणपछि खत्याड–रारा सडक हुँदै रारा घुम्न आउने पर्यटकको संख्या बढेको थियो । तर, लामो समयदेखि सडक बन्द हुँदा पर्यटकले समेत सास्ती खेप्नुपरेको छ ।

पहिरोले खेतीयोग्य जमिन र सिँचाइ कुलोमा समेत ठूलो क्षति पुर्‍याएको स्थानीय सम्पत्ति कार्कीले बताए । अर्का स्थानीय देवीलाल कार्कीका अनुसार गहुँ छर्ने समय भइसक्दा पनि सिँचाइ कुलो र आवतजावत गर्ने बाटो क्षतिग्रस्त भएकाले किसान समस्यामा छन् । झोलुङ्गे पुलमा समेत क्षति पुगेपछि आवतजावत थप कठिन बनेको छ ।

सडक खुलाउन तथा पहिरोको दीर्घकालीन समाधान खोज्न गाउँपालिका, वडाका जनप्रतिनिधि र सरोकारवाला निकायबीच छलफल भइरहेको जनाइएको छ ।

पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख इन्जिनियर सुशील आचार्यले पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली पठाएर सडक तत्काल सञ्चालन गर्ने र दीर्घकालीन समाधानका उपाय पहिचान गर्ने तयारी भइरहेको बताए ।

उनका अनुसार पहिरोको प्रकृति र अवस्थाबारे प्राविधिक अध्ययन गरेपछि तत्काल सडक खुलाउने तथा दीर्घकालीन रूपमा समस्या समाधान गर्ने प्रक्रिया अघि बढाइनेछ ।

खत्याड–रारा–गमगढी सडकको प्रवेश क्षेत्रमा लामो समयदेखि पहिरोका कारण यातायात अवरुद्ध हुँदा स्थानीय जनजीवन, कृषि उत्पादन र पर्यटन क्षेत्रमा समेत प्रत्यक्ष असर परेको छ । कर्णालीका अन्य सडकको तुलनामा छोटो र सुरक्षित मानिँदै आएको यो सडक पछिल्लो समय रारा आउने पर्यटकका लागि समेत महत्वपूर्ण मार्ग बन्दै गएको थियो ।

Back To Top
Modern Footer Design