नेपालमा ‘राक्षसीराज’ चलिरहेको छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले नेपालमा ‘राक्षसीराज’ सञ्चालन गरिरहेको आरोप लगाएका छन्।

एमालेको जनवर्गीय संगठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आफूलाई बिना कारण १३ दिनसम्म हिरासतमा राखिएको दाबी गरे। उनले शान्तिपूर्ण आन्दोलनमा सहभागी नेता तथा कार्यकर्तामाथि समेत सरकारले दमन गरेको आरोप लगाए।

ओलीले ‘राक्षसीराज’ जारी रहे नेसनल युथ फोर्स आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए। आफूहरू भिडन्तको पक्षमा नरहेको स्पष्ट पार्दै उनले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप वा आक्रमण भए प्रतिवाद गरिने बताए।

उनले नेसनल भोलेन्टियर्स फोर्स केवल प्रदर्शनका लागि नभई सामाजिक तथा राजनीतिक परिवर्तनका लागि गठन गरिएको बताए। संगठनले आफैं विवाद वा भिडन्त नखोज्ने तर कसैले आक्रमण गरे त्यसको प्रतिरोध गर्नुपर्ने उनको भनाइ थियो।

ओलीले आफूलाई १३ दिनसम्म हिरासतमा राखिए पनि पछि मुद्दासमेत चलाउन नसकिएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाए। लामो समयदेखि राजनीतिमा सक्रिय आफूजस्तो नेतालाई बिना कारण पक्राउ गरिएको भन्दै उनले वर्तमान अवस्थालाई ‘जङ्गलीराज’ हुँदै ‘राक्षसीराज’को संज्ञा दिए।

उनले नेसनल युथ फोर्सलाई देशभर संगठन विस्तार गर्दै थप सुदृढ र प्रभावकारी बनाउन निर्देशनसमेत दिए। देशमा हुने बेथिति, गलत गतिविधि तथा अन्यायविरुद्ध खबरदारी गर्ने जिम्मेवारी संगठनको रहेको ओलीको भनाइ थियो।

ओलीले शक्ति हुनुको अर्थ सधैं भिडन्तमा उत्रिनु नभएको उल्लेख गर्दै आफूहरू शान्तिपूर्ण रूपमा अघि बढ्ने तर अन्याय र आक्रमण सहेर भने नबस्ने स्पष्ट पारे।

Back To Top
Modern Footer Design