काठमाडौं । भारतका लागि नेपालका पूर्वराजदूत डा. शंकरप्रसाद शर्माले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई नेपालको आर्थिक समृद्धिसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन्। भारतको तीव्र आर्थिक विकासबाट नेपालले बढीभन्दा बढी लाभ लिन सक्ने गरी भ्रमणका क्रममा छलफल हुनुपर्ने उनको धारणा छ।
रातोपाटीसँगको कुराकानीमा पूर्वराजदूत शर्माले सरकारले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहमा सुधार र आर्थिक वृद्धिलाई प्राथमिकतामा राखेकाले भारतसँगको संवाद पनि यिनै विषयमा केन्द्रित हुनुपर्ने बताए। उनले नेपाल र भारतबीच ऊर्जा विकास तथा व्यापारका क्षेत्रमा आर्थिक साझेदारी विस्तार हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्रीको भ्रमणले यी विषयमा थप ठोस उपलब्धि हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
शर्माले जनकपुर–अयोध्याबीच सञ्चालन हुन लागेको रेल सेवालाई धार्मिक पर्यटनमा मात्र सीमित नराखी दुई देशका नागरिकबीचको सम्बन्ध विस्तार गर्ने माध्यमका रूपमा लिनुपर्ने बताए। उनका अनुसार अयोध्याबाट जनकपुर आउने रेलको पहिलो यात्रामा एक हजारभन्दा बढी यात्रु सहभागी हुने जानकारी प्राप्त भएको छ। पछिल्लो समय नेपाली नागरिकमा अयोध्या, बनारसलगायत भारतका धार्मिक तथा सांस्कृतिक स्थलप्रति आकर्षण बढ्दै गएकाले रेल सेवाले धार्मिक पर्यटनसँगै दुई देशबीचको जनस्तरको सम्बन्धलाई समेत थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
