काठमाडौँ । राजधानीको न्युरोडस्थित पाको क्षेत्रमा नेपालमै पहिलोपटक अत्याधुनिक चिप–लेभल रिपेयरिङ तथा डिजिटल डिभाइस रिकभरी प्रविधिसहितको ‘एन आइ ल्यापटप सर्भिस सेन्टर’ सञ्चालनमा आएको छ।
बिग्रिएका मोबाइल, ल्यापटप, म्याकबुक, मदरबोर्डलगायत विभिन्न डिजिटल उपकरणलाई कम खर्चमा पुनः प्रयोगयोग्य बनाउने उद्देश्यका साथ सेवा केन्द्र सुरु गरिएको हो।पिपुल्स प्लाजानजिक रहेको केएनके इलेक्ट्रोनिक्स कम्प्लेक्सको चौथो तलामा सञ्चालित उक्त केन्द्रले मोबाइल तथा ल्यापटप मर्मत, आईफोन र एन्ड्रोइड सफ्टवेयर समाधान, म्याकबुक रिपेयरिङ, मदरबोर्ड तथा चिप–लेभल मर्मत, विन्डोज सपोर्ट, एडोब तथा अफिस प्याकेज इन्स्टलेसनजस्ता सेवा उपलब्ध गराउने जनाएको छ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी सीटीईभीटीका उपाध्यक्ष तथा नेपाल औषधि लिमिटेडका पूर्वमहाप्रबन्धक डा। मोहम्मद सफीउल्लाहले यस्तो प्रविधि नेपालमा भित्रिनु उपभोक्ताका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले सामान्य प्राविधिक समस्याका कारण महँगा उपकरण फाल्नुपर्ने अवस्था अन्त्य गर्दै कम खर्चमा मर्मत गरी पुनः प्रयोग गर्न सकिने बताए।
कार्यक्रमका विशेष अतिथि तथा कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)का कार्यवाहक अध्यक्ष एवं साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले सूचना प्रविधिको क्षेत्रमा यस्तो स्तरको सेवा केन्द्र सञ्चालनमा आउनु सकारात्मक कदम भएको उल्लेख गरे। उनका अनुसार डिजिटल उपकरणको प्रयोग बढ्दै गइरहेका बेला गुणस्तरीय मर्मत सेवाको आवश्यकता पनि बढेको छ।
सेवा केन्द्रका सञ्चालक गणेश शर्माले अन्तर्राष्ट्रिय स्तरको रिपेयरिङ प्रविधि नेपालमा भित्र्याएर सेवा सुरु गरिएको जानकारी दिए। ग्राहकलाई सुलभ मूल्यमा भरपर्दो सेवा प्रदान गर्दै बिग्रिएका उपकरणलाई पुनः सञ्चालनयोग्य बनाउनु आफ्नो मुख्य उद्देश्य रहेको उनले बताए। आधुनिक उपकरण, दक्ष प्राविधिक जनशक्ति र पारदर्शी सेवा प्रणालीसहित सञ्चालनमा आएको एन आइ ल्यापटप सर्भिस सेन्टरले काठमाडौं उपत्यकामा डिजिटल मर्मत सेवाको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।
