लस एन्जलस। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को प्रतिस्पर्धात्मक खेलमा बेल्जियम र इरानले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। लस एन्जलसमा सम्पन्न खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि उत्कृष्ट गोलकिपिङका कारण स्कोर खोल्न सकेनन्।
यस नतिजासँगै बेल्जियम र इरानले दुई खेलबाट समान दुई–दुई अंक जोड्दै नकआउट चरणको सम्भावना जीवित राखेका छन्। अब दुवै टोलीका लागि समूह चरणको अन्तिम खेल निकै महत्वपूर्ण बनेको छ। खेलभर बल नियन्त्रणमा बेल्जियम केही हदसम्म हाबी देखिए पनि इरानको संगठित रक्षापङ्क्ति भेदन गर्न असफल रह्यो। प्रशिक्षक रुडी गार्सियाको टोलीले जेरेमी डोकुविनै मैदान उत्रिएको थियो भने स्ट्राइकर रोमेलु लुकाकुले लामो समयपछि सुरुआती टोलीमा स्थान बनाएका थिए।
पहिलो हाफमै बेल्जियमले गोल गर्ने अवसर पाए पनि इरानका गोलकिपर अलिरोजा बेइरानभान्डले युरी टिलेमान्सको प्रहारलाई उत्कृष्ट रूपमा बचाएका थिए। दोस्रो हाफमा पनि उनले माक्सिम डे क्युपरका दुई खतरनाक प्रहार रोक्दै टोलीलाई संकटबाट जोगाए। इरानले रक्षात्मक रणनीतिसँगै काउन्टर आक्रमणमा भर पर्दै बेल्जियमलाई दबाबमा राख्ने प्रयास गरेको थियो। पहिलो हाफमा होसेन कनानीको प्रहारलाई बेल्जियमका गोलरक्षक थिबाउट कोर्टुवाले विफल पारे।
२५औँ मिनेटमा मेहदी तारेमीले फ्रिकिकमार्फत गोल गरे पनि भिडियो सहायक रेफ्रीले अफसाइड ठहर गरेपछि गोल मान्यता पाएन। खेलको ६६औँ मिनेटमा बेल्जियमका डिफेन्डर नाथन न्गोयले तारेमीलाई रोक्ने क्रममा फाउल गरेपछि सिधै रातो कार्ड पाएका थिए। त्यसपछि बेल्जियम १० खेलाडीमा सीमित भए पनि इरानले संख्यात्मक लाभलाई गोलमा परिणत गर्न सकेन। अन्ततः दुवै टोलीले एक–एक अंकमा चित्त बुझाउँदा समूह ‘जी’ बाट अन्तिम १६ मा स्थान बनाउन अन्तिम खेलको नतिजा निर्णायक हुने भएको छ।
